रुकुम पश्चिममा दुई हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा डढेलो
रुकुम पश्चिममा दुई हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा डढेलो
रुकुम पश्चिम । जिल्लामा यो वर्ष गत वर्षको तुलनामा दोब्बरले डढेलो लागेको छ । फागुन, चैत र बैशाख महिनामा धेरै ठाउँको जंगलमा आगो लागेको हो । जिल्लाका ७५ स्थानमा डढेलो लागेको डिभिजन बन कार्यालय रुकुम पश्चिमसंग तथ्याङ्क छ ।
यो वर्ष दुई हजार ६५० हेक्टर क्षेत्रफल आगोले सखाप पारेको डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारले बताए । गत वर्ष २६ स्थानमा आगलागी हुँदा एक हजार २३४ हेक्टर भूभागमा आगलागी भएको थियो । यस वर्ष ७५ स्थानमा आगलागी भएको छ भने दुई हजार ६५० हेक्टर क्षेत्रमा आगलागी भएको हो ।
डढेलोका कारण सबैभन्दा बढी सामुदायिक वन क्षेत्रमा क्षति भएको छ । ५३ वटा सामुदायिक वन, छ वटा राष्ट्रिय वन, चार वटा निजी वन, पाँच वटा कोणधारी वन, तीन वटा चौडापाते, तीन वटा खाली क्षेत्र र एक लेकाली वन क्षेत्रमा डढेलो लागेको हो ।
डढेलोका कारण दुई हजार ८ सय ९४ वटा रुख, पाँच हजार ८ सय ५२ पोल र ३७ हजार ९ सय ३५ वटा बिरुवामा क्षति भएको छ । ‘आगलागीका यी घटना पछिल्लो दुई महिनायता भएका हुन्, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी, स्थानीयलगायतको समन्वयमा आगलागी नियन्त्रण गरिएको थियो’, प्रमुख परियारले भने ।
स्थानीयले घाँस पलाउने भन्दै खरमा आगो लगाउने, चुरोटका ठुटा जथाभाबी फाल्दा, भिरबाट ढुङ्गा खस्दा आगलागी हुने गरेको अनुमान गरिन्छ ।