मुसिकोट– १० बाट यो बर्ष ३६ लाख बढीको लसुन बिक्रि
मुसिकोट– १० बाट यो बर्ष ३६ लाख बढीको लसुन बिक्रि

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका –१० बाट यो बर्षको सुजनमा ३६ लाख बढीको लसुन बिक्रि भएको छ । वडाको विभिन्न ठाउँमा उत्पादन भएको लसुन ३६ लाख बढिमा बिक्रि भएको हो ।
वडाको झ्याङ, झान्डारी, खर्सुपानी, चौर, गलम्पाटी, नमूनाबस्ती लगायतका बस्तिमा राम्रो लुसुन उत्पादन हुने गरेको वडा अध्यक्ष धनबहादुर खड्काले जानकारी दिए ।
यो बर्षको यस सिजनमा वडामा उत्पादन भएको ४ सय ८९ क्विन्टल लसुन मध्य २ सय ८९ क्विन्टल लसुन बिक्रि भएको हो । प्रतिकिलो १ सय २५ रुपियाँका दरले लसुन बिक्रि भएको उनको भनाई छ ।
एक सय क्विन्टल लसुन काठमाडौं, ८९ क्विन्टल लसुन पोखराका व्यवसायीले खरिद गरेर लिकाए छन् । एक सय क्विन्टल लसुन भने रोल्पा र दाङका तीन जना व्यापारीले खरिद गरेका छन् । दुई सय क्विन्टल लसुन भने किसानले नै राखेका छन् । उनिहरुले अर्को सिजनमा बीउको लागि र घरायसी प्रयोगगका लागि उक्त लसुन घरमै राखेका हुन् ।
यस वडाका करिब डेढ सय जना किसानहरुले व्यवसायिक रुपमा लसुन खेति गर्दै आएका छन् । जसमध्य एउटै किसानले एक सिजनमा एक लाख १३ हजार भन्दा बढीको लसुन बिक्रि गरेका छन् । किसान ईन्द्रकुमार खड्काले नौ क्विन्टल बढी लसुन बिक्रि गरेर एक लाख १३ हजार रुपियाँ प्राप्त गरेको बताए । शहरका व्यापारीहरु गाउँमै आएर किसानको उत्पादनलाई उचित मूल्य दिएको उनको भनाई छ ।
यस वडामा २०७५ सालदेखि व्यवसायिक रुपमा लसुन उत्पादन हुँदै आएको छ । सुरुका वर्षहरुका दाङका व्यापारीहरुले यहाँको लसुन खरिद गरेर लैजाने गर्दथे । यस वर्षदेखि भने पोखरा र काठमाडौं लसुन जान थालेको हो । लसुन खरिदका लागि पाँच जना व्यवसायीहरु आएर किसानहरुसँग मूल्यमा सम्झौता गरेपछि एकसाथ लसुन बिक्रि भएको हो । यसका लागि वडा कार्यालयले नियमित सहजिकरण गरिरहेको छ । काठमाडौं, पोखरा र दाङमा अझै लसुनको माग रहेको वडा अध्यक्ष खड्काले बताए ।
वडाले स्थानीय छबि बहुउद्धेश्यीय सहकारी संस्थालाई कृषि उपजको संकलन र बजारीकरणका लागि खगाडि सारेको छ । त्यसैगरी वडाको पहलमा उत्पादन, बजार व्यवस्थापन र किसान तथा सहकारीलाई प्रोत्साहनका कार्यहरु हुँदै आएका छन् ।।