ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

"0" Comments

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । यही असार १७ गते राति दुई ठूला दल कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका थिए ।

अल्पमतमा परे पनि राजीनामा नदिई सदन फेस गरेका प्रचण्डले राखेको विश्वासको मत माग्ने प्रस्तावको पक्षमा ६३ मत मात्रै प¥यो भने विपक्षमा १९४ मत परेको सभामुखले घोषणा गरे। मत दिन्न भन्नेमा एक मत प¥यो ।

प्रतिनिधिसभामा भएको मतदानमा २ सय ५८ सांसद उपस्थित थिए । पाँचौं पटक विश्वासको मत लिने क्रममा संसद्को विश्वास जित्न नसकेपछि डेढ वर्षमै प्रचण्ड सरकार ढलेको हो ।

१० पुस ०७९ मा प्रधानमन्त्री बनेका प्रचण्डले चौथो पटकसम्म निरन्तर संसद्मा विश्वासको मत पाउँदै आएका थिए। दुई ठूला दल नै मिलेपछि यसपटक भने उनी अविश्वासको सिकार बनेका हुन् ।

प्रधानमन्त्री बनेपछि पहिलो पटक २७ पुस ०७९ मा ९७ प्रतिशत बढी अर्थात् २७५ सदस्यीय संसद्मा २६८ सांसदको मत पाएका थिए । पटक पटक सत्ता समीकरण फेर्दै पाँचौं पटकसम्म आइपुग्दा ६३ मा सीमित भए । यससँगै ९ वर्षपछि माओवादी प्रमुख प्रतिपक्षी दल बन्न पुगेको छ ।

नयाँ समीकरण अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *