अझै खुल्न सकेन मध्यपहाडी लोकमार्ग, रानिकोटमा पहिरो हटाउने प्रयास जारी
अझै खुल्न सकेन मध्यपहाडी लोकमार्ग, रानिकोटमा पहिरो हटाउने प्रयास जारी
रुकुम । रानीकोटमा सडक खुलाउने प्रयास गरिए पनि निरन्तर ढुङ्गा खस्दा चार दिन देखि सडक खुलाउने प्रयास सफल हुन सकेको छैन । आज (आतबार) दिन भर पनि पहिरो हटाउने प्रयास भैरहेको थियो । तर माथिबाट ढुङ्गा खसिरहेका कारण सडक खुलाउन नसकिएको डोजर चालक भुवन खत्रीले बताए ।
“काम भैरहेको छ । पटक–पटक सडक खुलाउने प्रयास गरिरहेका छौ । पहिरोको माथिबाट ढुङ्गा लगातार खरिरहेको छ । सडकको बेस पनि नभएका कारण ठुलो मेसिन नै भासिन्छकी भन्ने डरलागेको छ ।”, डोजर चालक खत्रीले भने । मध्यपहाडी लोकमार्ग अन्तरगत रुकुम पूर्वको सिस्ने गाउँपालिका– ६ रानीकोटमा बुधाबार राति ठुलो पहिरो खस्दा चार दिन देखि यातायातका साधन ठप्प छन् ।
बिहीबार बिहानैदेखि मर्मतको काम थाले पनि अहिलेसम्म काम नसकिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । निर्माणाधीन अवस्थामा रहेको रानीकोटस्थित यो भिरमा बर्सेनि पहिरो झर्ने गरेको भए पनि यसरी लामो समय अवरुद्ध हुने गरी पहिरो खसेको भने यो पहिलोपल्ट हो ।
रुकुम पूर्वदेखि पश्चिमका लागि यसको वैकल्पिक मार्गका रूपमा रहेको धाउने–गिलबाङ–खलंगाको सडकस्थित नाथीगाढ खोलामा गत शुक्रबार अस्थायी रूपमा राखिएको ह्युम पाइप पनि गए रातीखोलाले बगाइ दिएपछि दुई जिल्लाको आवागमन पूर्ण रूपमा ठप्प भएको प्रजिअ शर्माको भनाई ।
सडक अवरुद्ध हुदा रुकुम पश्चिम र पुर्व चल्ने सवारी साधन ठप्प हुनुका साथै मध्यपहाडी लोममार्ग हुदै बाग्लुङ पोखरा, काठमाडौं चल्ने सवारी साधन पनि चल्न सकेका छैनन् ।