भुमे गाउँपालिका–१, मैजाकुङको स्याउ बगैँचा हर्नेको घुईचो
भुमे गाउँपालिका–१, मैजाकुङको स्याउ बगैँचा हर्नेको घुईचो
रुकुम । रुकुम पूर्वको भुमे गाउँपालिका–१, मैजाकुङको स्याउ बगैँचाले त्यहाँ घुम्न जानेको मन लोभ्याउने गरेको छ । रुकुमकोटबाट नजिकै रहेको उक्त स्याउ बगैँचामा शनिबारको दिन हजारौ घुम्न आउने गरेका छन् भने अन्य दिनमा पनि घम्न आउनेहरुको पनि कमि हुदैन । दुई वटा बारीमा २ सय स्याउका बोट छन् ।
थोरै जमिनमा स्याउ लगाएको भए पनि सबै रुखमा स्याउ लटरम्म फलेका छन् । स्याउ बगैँचा मध्यपहाडी लोकमार्ग छेउमा छ । बाग्लुङ र रुकुम पूर्वको सिमानामा पर्ने पर्यटकिय क्षेत्र पातिहाल्ना जाने बाटोमा स्याउ बगैँचा पर्ने भएकाले पनि एक छिन् स्याउ बगैँचामा नपुग्ने कोहि पनि छैनन् ।
स्याउ बगैँचा हेर्न जिल्ला र जिल्लाबाहिरका पर्यटक आउने गरेका छन् । लुकुम र पातिहाल्ना घुम्न जानेहरू मैजाकुङको स्याउ बगैँचा नघुमी फर्कदैनन् । स्याउ बगैँचा घुम्ने, फोटो खिच्ने र स्याउ किनेर लिने गर्छन् ।
रमेश केसीले स्याउ बगैँचाको बारेमा साथीबाट जानकारी पाएपछि घुम्न आएको बताए । ‘सबैले कुरा गर्छन् । साथीहरू पनि घुम्न आएका थिए । मलाई पनि एकपटक पुगेर स्याउ बगैँचा हेरौं झैं लाग्यो । अहिले मज्जाले घुमे । निकै रमाइलो भयो’, उनले भने ।
रमाइलो मौसमको समयमा स्याउ बगैँचा डुल्न पाउँदा फरक अनुभुति भएको उनको भनाई छ । स्याउ बगैँचाका मालिक तिर्थबहादुर पुनका अनुसार स्याउ बगैँचा हेर्न आन्तरिक पर्यटक बढी मात्रामा आउने गरेका छन् । केही घुम्न त, केही स्याउ खेती बारे जानकारी लिन आउने गरेका छन् । स्याउ बारीमा पर्यटकले भरिभराउ हुने गर्छ ।
‘समय मिलाएर यो स्याउ बगैँचा हेर्नको लागि धेरै आउने गर्छन । रहरलाग्दो पाराले स्याउ फलेको छ । यसरी स्याउ फलाउन सके राम्रो आम्दानी गर्न सकिने रहेछ ।’, उनले भने । अहिले बोटबाटै स्याउ विक्रि हुने गरेको छ । स्याउ टिप्ने समय नभएको भए पनि त्यहाँ घुम्न जानेहरुले स्याउ किन्ने गरेका छन् ।
स्याउ बगैँचाले घुम्ने वातावरण सिर्जना गर्ने मात्र नभई कृषिमा लाग्न प्रेरणा दिने गरेको स्थानीय रनबहादु घर्तीको भनाई छ । स्याउ हेर्न भनेर समूहमा समेत धेरै पर्यटकहरु आउने गरेको र उनीहरूलाई घुमाउनका लागि समेत पटक÷पटक आफु स्याउ बगैँचा सम्म पुग्ने गरेको उनको भनाई छ ।
स्याउँ लगाउनुभएका तिर्थबहादुर पुनका अनुसार स्याउ हेर्नकै लागि भनेर मानिस आउने गरेका छन् । स्याउ फार्म हेर्न विभिन्न ठाउँबाट आउने गर्छन् । फार्ममा रमाउने गरेका छन्, उनले भने । जुम्लाबाट व्यापारीले ल्याएको स्याउका विरुवा किनेर लगाएको उनको भनाई छ ।
‘यहाँ स्याउ फल्छ भनेर सोचेको पनि थिएन । स्याउ निकै राम्रो फलेको छ । बजारको कुनै समस्या पनि छैन । स्याउ बारीमै सबै स्याउ बिक्रि भैसक्छन् ।’, उनले भने ।