आठविकोट नगरपालिकामा दुइ वटा हेलिकोप्टर आकस्मिक अवतरण
आठविकोट नगरपालिकामा दुइ वटा हेलिकोप्टर आकस्मिक अवतरण
रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका– ९ राडी वजारमा डोल्पाबाट सुर्खेत उडेका दुइ वटा हेलिकोप्टर आकस्मिक अवतरण भएका छन् । सुत्केरी बोकेका हेलिकोप्टर र मुख्यमन्त्री सवार हेलिकोप्टर आकस्मिक रूपमा अवतरण भएका हुन् ।
डोल्पाबाट सुत्केरी बिरामी बोकेर उडेको कल साइन नाइन ए ०६६ हेलिकोप्टर खराब मौसमको कारण आठबिसकोट नगरपालिका–९ राडिको रङ्गशालामा अवतरण भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाकी पदमी कुमारी बुढालाई हेलिकोप्टर मार्फत उद्धार गरेर सुर्खेततर्फ लानेक्रममा आठबिसकोटमा आकस्मिक अवतरण गरिएको हो ।
सुत्केरी पश्चात् साल ननिस्केको र रक्तस्राव बढी भएपछि उहाँलाई हेलिकोप्टरमार्फत सुर्खेत लगिँदै थियो । अहिले आठबिसकोट नगर अस्पतालका स्वास्थ्यकर्मीहरुले हेलिकोप्टर अवतरण गरिएकै स्थलमा पुगेर सुत्केरीको स्वास्थ्य उपचार गरिरहेको बताइएको छ ।
त्यस्तै सुर्खेत जाँदै गरेको कर्णालीका मुख्यमन्त्री सवार हेलिकोप्टर पनि राडीमा आकस्मिक अवरण भएको थियो । डोल्पाको त्रिपुरा सुन्दरी दर्शन तथा एक मेलाको अवलोकन गरेर फर्किने क्रममा मुख्यमन्त्री कँडेल सवार हेलिकोप्टर लगातारको वर्षाका कारण आज दिउँसो साढे ३ बजेतिर राडीमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
मुख्यमन्त्री सवार सिम्रिक एयरको नाइन एन–एकेडी कल साइन भएको हेलिकोप्टर राडी स्थित एक खेल मैदानमा अवतरण गरेको प्रहरीको भनाई छ । हेलिकोप्टरमा मुख्यमन्त्री सहित उहाँकी श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख, सुरक्षा गार्ड र चालक सहित ५ जना सवार रहेको बताइएको छ ।
मुख्यमन्त्रीको टोली राडी बजारमा बसिरहेको र मौसम सफा भएपछि सुर्खेत फर्किने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । आज बिहानै देखि वर्षा भइरहेको छ । जसका कारण मौसम खराब भएको हो ।।