पोखराका स्थानीयले बाटो मर्मत गरे
पोखराका स्थानीयले बाटो मर्मत गरे
रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका– ३ पोखराका स्थानीयले बाटो मर्मत तथा सफाइ गरेका हुन् । प्रत्यक महिनाको शनिबार विभिन्न ठाउँमा विग्रिएका गोरेटो बाटो मर्मत गर्ने गरेका स्थानीयहरुले आज पनि सिस्ने गाउँपालिका–३ पोखरालाई जिल्ला सदरमुकामसँग जोड्ने बाटो मर्मत गरेका हुन् ।
पोखरा गाउँदेखि धाउने हुँदै रुकुमकोटसम्म जाने बाटोमध्ये पोखरातर्फको दुई पांग्रे सवारी र पैदल यात्रा गर्ने बाटो ठाउँ–ठाउँमा बिग्रिएकाले आज मर्मत गरी संचालनमा ल्याइएको हो । पोखराबाट सिस्ने–४ कोइरेलपाखा हुँदै झोलुंगे पुल तरेर जाने बाटोमा तीन–चार ठाउँमा माथिबाट बाढी आएपछि अवरुद्ध भएकाले शनिबार बिहानै स्थानीय युवाहरूको सक्रियतामा सहज बनाएको पोखरा–३ का रामचन्द्र केसीले बताए ।
‘हाम्रा लागि मोटरसाइकल र पैदल भएर सदरमुकाम जाने चलनचल्तीको बटो नै यही हो,’ उनले भने, ‘पहिल्यैदेखि साँघुरो भए पनि गएरातीको पानीले अवरुद्ध भएको थियो । हामीले श्रमदानमार्फत मर्मत सम्भार गरेर सुचारु बनाएका हौं ।’
पोखराबाट करिब ३ किलोमिटर गोरेटो बाटोमा यात्रा गरेपछि झोलुंगे पुल तरेर धाउनेसम्म जान सकिने बताउँदै अर्का स्थानीय रामबहादुर खड्काले यसअघि पनि बेला–बेलामा मर्मत गर्ने गरेको बताए । ‘यसभन्दा माथि ठूलो माटो भएर पक्की पुल तरेर सदरमुकाम जान त सकिन्छ । तर त्यो बाटो लामो हुने भएकाले धेरैले यहीबाट यात्रा गर्छन्,’ उनले भने, ‘हामीले यो बाटोलाई चौडा बनाउन गाउँपालिकामा धेरैपल्ट माग ग¥यौं । तर कसैले पनि सुनेन ।’
छिटो–छरितो हुने भएकाले यही बाटो भएर दुईपांग्रे सवारी आवतजावत गर्ने भए पनि साँघुरो भएका कारण जोखिम छ । यसलाई थप चौडा नबनाएसम्म जोखिम यो कायम रहने छ ।