विमलाको निजामती सेवाको यात्राः १० बर्षमा खरिदारदेखी उपसचिवसम्म
विमलाको निजामती सेवाको यात्राः १० बर्षमा खरिदारदेखी उपसचिवसम्म

रुकुम पूर्व । उच्च शिक्षाका लागि पढाइ खर्च जुटाउन आफैंले पढेको विद्यालयमा करार शिक्षक भएर पढाइरहेकी रुकुम पूर्वकी विमला रोकाले १२ वर्षअघि रहरै–रहरमा खरिदार पदका लागि लोक सेवा आयोगको परीक्षा दिइन् । स्थायी जागिरका लागि पहिलोपल्ट खुलातर्फ लोक सेवामा भिडेकी उनी दोस्रो प्रयासमै सफल भइन् । पहिलोपल्ट लोक सेवामा भिडेको १० वर्षपछि उनी नेपाल सरकारको उपसचिव भइन् ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१३ मा जन्मिएर रुकुम पूर्वको भुमे गाउँपालिका–३ मा विवाह गरेकी विमलाले माध्यमिक तहको पढाइ गाउँबाटै सकिन् । कक्षा १२ र स्नातक पढ्न जिल्ला सदरमुकाम मुसीकोट आइन् । ‘प्लस टु सकेर ब्याचलर भर्ना भएका बेला गाउँमै पढाउने काम पाएँ । त्यहीबेला पहिलोपल्ट साथीहरूको अनुरोधमा लोक सेवाको फारम भरें,’ उनी भन्छिन्, ‘तर त्यो बेला राम्रोसँग फारम भर्न पनि जानेकी थिइनँ, मेरा लागि त लोक सेवाको परीक्षा कुन चरीको नाम हो भन्ने पनि थाहा थिएन । खास तयारीबिनै परीक्षा दिएर एउटा प्रयास मात्र गरियो ।’
त्यो पहिलो प्रयास रहरकै लागि मात्रै भए पनि १० वर्षपछि विमलाले दोस्रो पटक पुनः खरिदार पदका लागि फारम भरिन् । ‘खुला र समावेशी दुवैतर्फ फारम भरें । परीक्षा पनि दिएँ । अनि दुवैतर्फ नाम पनि निस्कियो,’ उनी सुनाउँछिन् । लोक सेवाको तयारीका लागि कुनै औपचारिक कक्षा नलिएरै स्वअध्ययनका भरमा दिएको परीक्षामा लिखितको खुला र समावेशी दुवैतर्फ सफल भएको पल सम्झिँदै विमला भन्छिन्, ‘अनि मलाई आमाले ५ हजार रुपैयाँ सापटी खोजेर मौखिक परीक्षा दिन दाङ पठाउनुभयो ।’ समावेशीतर्फको मौखिक परीक्षा दिएको केही दिनमै अन्तिम नतिजा विमलाको पक्षमा आयो । त्यो सफलता ‘सपना जस्तै लागेको’ बताउँदै उनी भन्छिन्, ‘ख्यालख्यालमै खरिदार भएपछि खुसी सँगै जोस, जाँगर र आत्मविश्वास बढेर आयो ।’
निजामती कर्मचारीका रूपमा पहिलोपल्ट जिल्ला हुलाक कार्यालय रुकुममा हाजिर भएकी विमलालाई त्यसपछि अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । ‘त्यसपछि म जागिरसँगै स्नातक सक्नेतर्फ केन्द्रित भएँ । यो बीचमा ३ पटकसम्म नायब सुब्बामा पनि प्रयास गरें तर नियमित पढाइमै फोकस भएकाले नासुका लागि खरो उत्रिन सकिनँ,’ उनी भन्छिन् । स्नातक तहको पढाइ सकेपछि विमलाले निजामती सेवामै रहेका समकक्षी चन्द्रसिंह श्रेष्ठसँग विवाह गरिन् । स्नातक सकिनेबित्तिकै २०७२/७३ को विज्ञापनमा प्रशासनतर्फ विमला दम्पतीले अधिकृत पदका लागि परीक्षा दिए ।
‘हामी दुवै जना सुब्बा थियौं । पहिलो प्रयासमै दुवै जना अधिकृत भयौं,’ उनी भन्छिन् । अधिकृतमा नाम निस्किएर पोस्टिङ भइसकेपछि यसअघि दिएको नायब सुब्बाको लिखित परीक्षाको नतिजा आएको र आफ्नो नाम निस्किएको पनि उनी सम्झिन्छिन् । तर अधिकृत नै भइसकेकाले उता जाने कुरै भएन । २०७३ कात्तिकमा अधिकृतमा नाम निकालेपछि ६ महिने तालिमको अन्तिमतिर विमला रुकुम पूर्वको सिस्ने गाउँपालिका कार्यालयमा र श्रीमान् चन्द्रसिंह भुमे गाउँपालिका कार्यालयमा कार्यकारी अधिकृत (हालको प्रमुख प्रशासकीय अधिकृत) का रूपमा हाजिर भए । ‘त्यसपछि मैले करिब ३ वर्ष गाउँपालिकामा र १६ महिना रुकुम पूर्वकै जिल्ला समन्वय समितिमा कार्यालय प्रमुखका रूपमा काम गरें,’ विमला भन्छिन्, ‘यहीबीचमा छोरा जन्मियो, यसकारण पढाइ प्रभावकारी भएन । रुकुमबाट काठमाडौं सरुवा भएपछि भने मैले पढाइलाई गति दिएँ ।’
रुकुम पूर्वबाट काठमाडौंस्थित नेपाल ट्रस्टको कार्यालयमा विमलाले करिब ११ महिना काम गरिन् । यहीबीचमा उपसचिव पदका लागि गरेको पहिलो प्रयास सफल भएन । तर दोस्रोपल्ट २०७९ मा भएको आन्तरिक प्रतिस्पर्धामा विमला सफल भइन् । ‘आन्तरिकमा खुला प्रतिस्पर्धा मात्रै हुन्छ । हामी जम्मा १७ जनामध्ये म एकमात्र महिला थिएँ, सफल पनि भएँ ।’ काठमाडौंमा गएपछि एकातिर जागिर र नियमित पढाइ, अर्कोतर्फ छोराको रेखदेख गर्ने क्रममा विमलाले उपसचिवको तयारी पनि गरिन् र सफलता हात पारिन् । ‘हामी दुवै जना जागिरे, चाहेर पनि सँगै बस्न नमिल्ने । तर मैले कोसिस जारी राखें, मिहिनेत गरिराखें र सफल पनि भएँ,’ संघर्ष र सफलताका दिनहरू सम्झिँदै उनी भन्छिन्, ‘हुँदैन, सक्दिनँ र गर्दैन भनेको भए समयले मलाई पर्खिन्थेन । तर मैले भोक–दिनको प्रवाह नगरी पढें, मिहिनेत गरें ।’
उपसचिव पदमा नाम निकालेपछि विमलाको पहिलो नियुक्ति उपराष्ट्रपतिको कार्यालयमा भयो । त्यहाँ करिब ९ महिना काम गरेपछि हाल उनी पाठ्यक्रम विकास केन्द्र सानोठिमीमा कार्यरत छिन् । र, उनका श्रीमान् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शाखा अधिकृत छन् ।
निरन्तरको मिहिनेतपश्चात् सफलताको मार्गमा लम्केकी विमला सामान्य परिवारमा जन्मेकी हुन् । ‘बाबाले दुई वटा विवाह गर्नुभयो । ठूलीआमाबाट ४ बहिनी छोरी भएपछि हाम्री आमालाई बिहे गर्नुभएको रे,’ उनी सुनाउँछिन्, ‘कान्छी श्रीमतीतर्फबाट जन्मेका ४ छोरी र दुई छोरामध्ये म चाहिँ तेस्रो सन्तान ।’ नियमित आम्दानीको स्रोत नभए पनि आफ्नै खेतीबारीमा दिनभरि काम गरेपछि साँझबिहान खान पुग्ने परिवारकी सदस्य थिइन् विमला । तर ठूलो परिवार भएकाले सहज भने थिएन । ‘बेला–बेलामा बा कालापार (भारत) जानुहुन्थ्यो । उहाँको कमाइ र परिवारका अरू सदस्यको मिहिनेतबाट घर चलेको थियो,’ विगत सम्झिँदै उनी भन्छिन्, ‘हामी १० भाइबहिनीको लालनपालनका साथै पढाइ र अन्य खर्च धान्न बा–आमालाई सहज थिएन । यसकारण पनि जीवनमा केही गरेर परिवारको दैनिकीलाई सहज बनाउने दृढता ममा थियो ।’
सामान्य पढाइ खर्चसमेत जुटाउन नसक्दा कैयौं पटक आवश्यकतालाई जसोतसो टारेर, रहर मारेर दिन कटाएका कैयौं अनुभव विमला सँग छन् । ‘संघर्षले मलाई स्पात बनायो । अनेकन अप्ठ्यारोका बीचबाट पनि मलाई पढाइमा घरपरिवारको साथसहयोग सधैं रहिरह्यो,’ उनी भन्छिन् । सात वर्षअघि देहान्त भएका बाबाको सम्झना गर्दै विमला भन्छिन्, ‘मेरो प्रगतिको एक खम्बा मेरा बा अहिले पनि साथै भइदिएको भए उहाँ कति खुसी हुनुहुन्थ्यो होला ?’
स्रोतसाधनले सम्पन्न भएरै मात्र सफलता प्राप्त हुन्छ भन्ने विमलालाई लाग्दैन । ‘मैले अधिकृतको तयारी गर्दा काठमाडौंमा केही महिना तयारी कक्षा लिएको बाहेक अरू बेला सबै स्वअध्ययन गरेरै परीक्षा दिएँ,’ उनी भन्छिन्, ‘आफूले गर्छु भनेपछि अरू पनि अनेकन उपाय छन् । तयारी कक्षा नै लिनुपर्छ जस्तो मलाई लाग्दैन । सर्वप्रथम त म सक्छु र म गर्छु भन्ने आत्मविश्वास चाहियो । सँगसँगै लगनशीलता र प्रतिबद्धता पनि चाहियो ।’ लोक सेवाको तयारीमा लाग्न चाहनेलाई उनी भन्छिन्, ‘एकैपटकमा सफलता आफ्नो पक्षमा नआउन पनि सक्छ । तर धैर्यताका साथ नतिजा प्राप्त नभएसम्म लागिरहनुपर्छ ।’
साथै उनले लोक सेवाको तयारी गर्नका लागि पछिल्लो समय विकसित भइरहेको सूचना–प्रविधिको भरपूर प्रयोग गर्न पनि सुझाव दिन्छिन् । ‘अहिले त जहाँ बसेर पनि लोक सेवाको तयारी गर्न सकिन्छ । पहिले जस्तो पाठ्यसामग्रीको अभाव हुन र भौतिक रूपमै कक्षा नै लिनुपर्छ भन्ने छैन,’ उनी भन्छिन् । स्नातक तहसम्म रुकुममै पढेकी विमलाले जनप्रशासन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् भने अहिले कानुनमा स्नातक पढिरहेकी छन् । ‘थाहा पाउने भएदेखि अहिलेसम्म मैले पढ्न कहिल्यै छोडिनँ,’ उनले भनिन्, ‘अझै धेरै पढ्नुछ । अब म सहसचिवको तयारीमा लाग्ने हो । अनि सचिवसम्म भएर निजामती सेवाको नेतृत्व गर्ने मेरो सपना छ ।’
साथै विमलालाई नामका अघि ‘डाक्टर’ लगाउने धोको छ । भन्छिन्, ‘म कुनै एउटा विषयमा विशेषज्ञता हासिल गर्न चाहन्छु । अहिले हामी (श्रीमान्–श्रीमती) ले यो बेलामा घरपरिवार र छोराका लागि पनि समय दिइरहेका छौं । तर मैले पढ्न छोडेको छैन । यसलाई थप गति दिने कुरामा पनि म योजना बनाउँदै छु ।’
ई-कान्तिपुरबाट साभार ।