उपनिर्वाचन : कुन दलले कति ठाउँ जिते

उपनिर्वाचन : कुन दलले कति ठाउँ जिते

"0" Comments

काठमाडौं । स्थानीय तहका रिक्त ४४ पदको उपचुनावमा अब नतिजा आउन ६ स्थान मात्र बाँकी छ । अन्तिम नतिजा सार्वजनिक भएका मध्ये कांग्रेसले १८ स्थानमा जितेको छ ।

कांग्रेस उम्मेदवारले कोशी प्रदेशमा ३, मधेशमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदूरपश्चिममा ५ पदमा विजयी भएका छन् । अब नतिजा आउन बाँकी सबै क्षेत्र जित्यो भने पनि कांग्रेसको सिट संख्या २४ मात्र हुन्छ

यो भनेको कांग्रेसले ०७९ मा जितेको सिट संख्या (२७) गुमाइसकेको छ । उपचुनाव भएका ४४ मध्ये कांग्रेसले जितेको २७ स्थानमा रिक्त भएको थियो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केही सिट थपिसकेका छन् । उपचुनाव भएका क्षेत्रहरुमा यसअघि माओवादीले जितेका ८ र एमालेले जितेका ७ स्थान रिक्त थिए ।

हालसम्मको परिणाममा एमालेले ८ पदमा र माओवादीले ७ स्थानमा जित निकालिसकेका छन् । माओवादीले मोरङको ग्रामथान गाउँपालिकामा जित निकालेको छ । यहाँ माओवादी केन्द्रका नमोनारायण माझी विजयी भए । माझीले ६९६९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बलराम सरदार थारुले ५३३३ मत पाए । एमालेका तुलसीराम विश्वास ४१५९ मत ल्याएर तेस्रो भए ।

यो पालिकामा २०७९ साल वैशाखमा सम्पन्न चुनावमा माओवादी केन्द्र तेस्रो स्थानमा थियो । त्यसबेला कांग्रेसका जयप्रकाश गच्छदार थारु ७६०५ मत ल्याएर विजयी भएका थिए । एमालेका शिवनारायण माझी ६०९३ मत ल्याएर दोस्रो हुँदा माओवादीका विजयकुमार सरदार २७२७ मतसहित तेस्रो भएका थिए ।

जाजरकोटको नलगाडको उपमेयरमा पनि माओवादीले जितेको छ । ४२७२ मत ल्याएर माओवादीकी देवका लामिछाने विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंह ३१४७ मत ल्याएर दोस्रो भइन । एमालेकी सुनिता बोहरा २५४२ मत ल्याउँदै तेस्रो भइन् ।

यो पालिकामा २०७९ सालमा माओवादी र कांग्रेसका बीचमा गठबन्धन थियो । गठबन्धनबाट मेयरमा माओवादीका डम्मरबहादुर रावत र उपमेयरमा कांग्रेसकी सरिता सिंह विजयी भएका थिए । २०८० कात्तिक १७ गते भूकम्पमा परी सिंहको मृत्यु भएपछि रिक्त पदमा भएको उपचुनावको परिणाम माओवादीले आफ्नो पक्षमा पारेको हो ।

एमालेले पनि विगतमा चुनाव नजितेको क्षेत्रमा चुनाव जितेको छ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भए । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ ।

एमालेका शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गर्दै बुढा विजयी भएकी हुन् । बुढाले एक हजार ७४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले एक हजार ४७४ मत पाइन् ।

२०७९ सालको निर्वाचनमा विजयी कांग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा उपनिर्वाचन भएको हो ।

जसपा नेपालले गत चुनावमा जितेको मध्ये एउटा पद मात्रै रिक्त भएको थियो । यो उपचुनावमा जसपा नेपालले दुई पद जितिसकेको छ ।

एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीले पनि जितेर एक÷एक सिट थपिसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *