प्वाङतर्फ आवतजावतका लागी अस्थायी बाटो र साँघुले सजिलो

प्वाङतर्फ आवतजावतका लागी अस्थायी बाटो र साँघुले सजिलो

"0" Comments

रुकुम पूर्व । सिस्ने गाउँपालिका १ र २ तथा पुथाउत्तरगंगा गाउँपालिका ७ र १४ का सर्वसाधारण आवागमन गर्ने भालखाप्चे स्थित मुल बाटो गत बर्खामा भत्किएपछी सानीभेरी नदीमा काठको अस्थायी साँघु र बाटो बनेपछी सहज भएको छ । साविकको बाटो बनाउन ठुलो लगानी लाग्ने भएपछी यसो गरिएको हो ।

सिस्ने गाउँपालिकाको कुल १२ लाख लगानीमा अस्थायी बाटो र साँघु बनाईएको पालिका अध्यक्ष कृष्ण रेग्मीले बताए । ‘पहिलाको बाटो भत्किएर त्यहाँ नयाँ बाटो बनाउन तत्काल सम्भव नभएकाले यसो गरिएको हो । उनले भने, ‘स्थायी बाटो बनाउनका लागी हामीले १ करोडको लागत स्टमेट सहित संघिय सरकार समक्ष माग गरेका छौं । उक्त बजेट नआएमा पुरानै समस्या दोहारिने जोखिम छ ।’

जिल्ला सदरमुकाम रुकुमकोटबाट सिस्नेका १, २ र पुथाउत्तरगंगा गाउँपालिकाका ७, ८, ९ र १४ वडाका वासिन्दा आवतजावत गर्ने मुलबाटो अन्तरगत पुथाउत्तरगंगाको–१४ स्थित भालुखाप्चेको भिरमा गत साउनमा पहिरो गएको थियो । यसपछी डोरीको सहायतामा आवत जावत गर्न थालिएको थियो भने पछी उक्त बाटोलाई केही सहज बनाईएको थियो । तर उक्त बाटोमा जोखिमपुर्ण भएकाले नदीको बहाब घटेपछी नदीकै छेउछेउबाट अस्थायी बाटो बनाएर सिधै सिस्ने २ मा जोड्न साँघु बनाईएको हो ।

बर्खा लागेपछी फेरी नदी बढ्ने र यो बाटो नरहने भन्दै सिस्ने–२ का वडा अध्यक्ष जीवन केसीले यसको स्थायी समाधान खोजिनुपर्नेमा जोड दिए । ‘हामीले सकेको पहल गरिरहेकै छौं । तर हामीसंगै सरोकारवाला राज्य–सरकार गम्भिर हुनुपर्ने देखिन्छ ।’ उनले भने ‘अहिले बेवास्ता गरियो भने पछी फेरी हाम्रो दुःख बल्झिनेछ ।’
बगरको बाटो हाललाई सहज र छरितो भएपनी घोडा–खच्चड हिड्न र दैनिक माल–सामान ओसार्न भने बगरबाट फेरी पुरानै बाटो उक्लिएर जानुपर्ने बाध्यता रहेको सिस्ने–२ का अर्का स्थानिय घनश्याम खड्काले बताए ।

भालुखाप्चेको भिरदेखी नजिकै रहेको पुथाउरत्तरगंगा–१४ स्थित देउखोलासम्म प¥याईएको सडक त्यसभन्दा अघिसम्म पुग्न सकेको छैन । देउखोलादेखि पुथाउत्तरगंगाकै त्रिवेणीसम्म १२ किलोमिटर सडक कालोपत्रे नै गर्न ६ वर्षअघि पिएस शंकरमाली जेभीले ठेक्का लिए पनि काम नगरेपछि गत असारमा सम्झौता तोडिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना रुकुम पश्चिमका प्रमुख रामआशिष शाहले बताए । यस खण्डमा नयाँ ठेक्का लगाउने प्रक्रिया थालिएको भनिएपनि त्यसले गति लिएको छैन ।

सडक नहुदाँ यस भेगका स्थानिय आफैले बोकेर र घोडा–खच्चडमा ढुवानी गरेर दैनिक उपभोग्य सामान लैजाने गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *