‘जनयुद्ध दिवस’का नाममा रुकुम पश्चिममा ५ वटा पालिकामा सार्वजनिक विदा
‘जनयुद्ध दिवस’का नाममा रुकुम पश्चिममा ५ वटा पालिकामा सार्वजनिक विदा
रुकुम पश्चिम । २०५२ फागुण १ गते तत्कालिन माओवादीले सशस्त्र संघर्ष सुरु गरेको अवसरमा आजको दिनलाई ‘जनयुद्ध दिवस’ मनाउन भन्दै रुकुम पश्चिमका जम्मा ६ मध्ये ४ वटा पालिकाले सार्वजनिक विदा दिएका छन् ।
जिल्लाका त्रिवेणी र सानीभेरी गाउँपालिका तथा चौरजहारी र आठविसकोट नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।
त्रिवेणी गाउँपालिकाले ‘जनयुद्ध दिवस’को सट्टा ’सशस्त्र संघर्ष सुरु भएको दिनको अवसरमा’ भनेर विदा दिएको सुचना जारी गरेको छ । त्यस्तै सानीभेरी गाउँपालिकाले विदा दिनुका साथै यस अवसरमा राष्ट्रिय स्तरको ‘मौराखारा गुरिल्ला म्याराथन’ को समेत आयोजना गरेको पालिका अध्यष बिर्खबहादुर विष्टले बताएका छन् ।
उता बाँफिकोट गाउँपालिले पनि विदा दिने भनेर मंगलबार गरेको निर्णय उपर सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश जारी गर्दै बुधबार अदालतले ‘निर्णय कार्यन्वयन नगर्नु–नगराउनु’ भन्ने आदेश जारी गरेको छ । अन्तरिम आदेशपछि भने बाफिकोट गाउँपालिकाले ‘जनयुद्ध दिवस’ हटाएर अर्को सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको उद्गम बिन्दु सशस्त्र संघर्ष सुरुवात भएको दिन मेलगैरी सहिद स्मृति मेला र सोही दिन ९५ सहिदका परिवारलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेकाले यस गाउँपालिका अन्तर्गतका सबै सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइने,’ सूचनामा भनिएको छ ।
कांग्रेसले पालिका अध्यक्षमा जितेको यस बाँफिकोटमा विदा दिने निर्णय गरेपछी यो बिषयलाइ लिएर कांग्रेसभित्र अध्यक्ष जनक कुमार बाठाको कडा विरोध भएको थियो । संविधानले नचिन्ने ‘जनयुद्ध’का नाममा विदा दिनु गैरसंवैधानिक काम भएको भन्दै कांग्रेस नेता खड्क डाँगीले सर्वोच्चको आदेश पश्चात गलत निर्णय सच्चिएको बताए ।
साथै जिल्लाकै आठविसकोट र चौरजहारी नगरपालिकाले पनि ‘जनयुद्ध दिवस’को अवसरमा भनेर सार्वजनिक विदा दिने निर्णय गरेको सम्बन्धित पालिकाले सुचना जारी गरेका छन् ।
उता रुकुम पूर्वका ३ वटा गाउँपालिकाले भने यस सन्दर्भमा विदा दिएको निर्णय गरेका छैनन् । गत बर्षनै सर्वोच्चले नेपाल सरकारले जनयुद्ध दिवसको अवसरमा दिएको विदा खारेज गरिदिएको थियो । केहि स्थानीयतहले विदा दिएको भए पनि गत बर्षको फागुन २ गते अदालतको मानहानि गरेको भन्दै ति स्थानीय तह विरुद्ध मुद्धा पनि गरेको थियो ।
