राष्ट्रिय सभामा रिक्त हुने पदका लागि आज मतदान हुँदै
राष्ट्रिय सभामा रिक्त हुने पदका लागि आज मतदान हुँदै
काठमाडौं। राष्ट्रिय सभा सदस्यको रिक्त हुने पदका लागि आज मतदान हुँदैछ । आगामी फागुन २० बाट पदावधि सकिने राष्ट्रिय सभाका २० मध्ये १९ सदस्यका लागि सातै प्रदेशमा मतदान हुन लागेको हो ।
कार्यकाल सकिनु ३५ दिन अगावै नयाँ सदस्य चयन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज निर्वाचन गर्न लागिएको हो । निर्वाचन आयोगले ७ वटा प्रदेशमा रहेका मतदानस्थलमा १९ पदकै लागि बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने जनाएको छ ।
आयोगले कोशीका लागि प्रदेश निर्वाचन कार्यालय, मधेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, बाग्मतीका लागि भुटनदेवी मावि र प्राविधिक शिक्षालय, गण्डकीमा प्रदेश निर्वाचन कार्यालय, लुम्बिनीमा कर्मचारी मिलन केन्द्र, कर्णालीमा निर्वाचन कार्यालय र सुदूरपश्चिममा प्रदेशसभा भवनलाई मतदानस्थल तोकेको छ ।
निर्वाचन आयोगले मतदान सकिएको तीन/चार घण्टाभित्रै परिणाम घोषणा हुने जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशका सांसद, नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुख मतदाता हुन्छन् । जसमा सातै प्रदेशका ५४९ प्रदेशसभा सदस्य र ७५३ स्थानीय तहका एक हजार ४९८ प्रमुख तथा उपप्रमुख गरी दुई हजार ४७ मतदाता रहेका छन् ।
जनसंख्याका आधारमा उनीहरुको मतभार तोकिन्छ । पछिल्लो जनगणनाको तथ्यांक अनुसार आयोगले प्रदेशसभा सदस्यको ५३ र पालिकाका प्रमुख÷उपप्रमुखको १९ मतभार तोकिएको छ ।
निर्वाचन हुने १९ जनामा बाग्मतीमा ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३÷३ तथा कोशी, मधेश र लुम्बिनी प्रदेशबाट २/२ सिटका लागि चुनाव हुँदैछ । रिक्त पद जुन समूह र प्रक्रियाबाट निर्वाचित भएको हो, सोही समूह र प्रक्रियाबाट सदस्य निर्वाचित भएर आउँछन् ।
निर्वाचनमा भाग लिन १२ राजनीतिक पार्टीले आयोगमा दल दर्ता गरे पनि चुनावी मैदानमा ८ दलका ५१ उम्मेदवार छन् ।
सत्ता गठबन्धनबाट कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले साझा उम्मेदवार अघि सारेर गठबन्धन गरेका छन् । जसमा कांग्रेसका १०, माओवादीका ६, एसका २ र जसपाका १ उम्मेदवार छन् ।