बाँफिकोटको विभिन्न ठाउँमा लागेको आगोको कारण ठुलो क्षती
बाँफिकोटको विभिन्न ठाउँमा लागेको आगोको कारण ठुलो क्षती

रुकुम पश्चिम । जंगलमा लागेको आगो बस्तिमा पस्दा बाँफिकोट गाउँपालिका-२ मा १० वटा घर जलेका छन् । आईतबार दिउँसो वन क्षेत्रबाट गाउँतर्फ सल्केको आगाेकाे कारण यो समाचार तयार पार्दा सम्म वडा नम्वर २ मा १० वटा घर जलेका हुन् ।
आईतबार दिउँसोबाट लागेको आगलागीको कारण रातभर १० वटा घर र दर्जनौ गोठ नष्ट भएको वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिए । नेट्टेमा दुई वटा, मेगे र कलजुतेमा आठ वटा घरमा आगलागी भएको उनको भनाई छ । स्थानीय महाबिर पौडेल, नन्दराम पौडेल, मानसिङ पौडेल, सरण पौडेल, कविराम पौडेल, बल बहादुर पौडेल, कृष्ण पौडेल र कमला पौडेलको घरमा आगलागी भएका हो ।
अधिकांस जलेका घरहरु लेकाली क्षेत्रमा भएका कारण पनि आगालागिबाट घर जोगाउन नसकेको स्थानीय प्रतिभा पौडेलले जानकारी दिईन् । आगलागी उच्च लेकतर्फ फैलिएकोले त्यहाँ रहेका दर्जनौ गोठहरु जलेको उनको भनाई छ ।
हिजो दिनभर स्थानीयवासीले आगो निभाउने कोशिस गरेको भए पनि आगो नियन्त्रण गर्न नसकिएको तिलक पौडेलको भनाई छ । आगलागी अनियन्त्रित भएपछि स्थानीयवासीहरुलाई सजक रहन र धनमालको सुरक्षा गर्न अनुरोध गरिएको छ ।
त्यसैगरी वडा नम्वर ३ को दारकाट्टे र चौरपोखरीमा आठ वटा घर जलेको वडा अध्यक्ष तिलबिर केसीको भनाई छ । स्थानीय ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा मानविय क्षती पनि भएको थियो ।
जंगलमा लागेको आगो घरमा सल्केपछि ७० वर्षिया बुदी कामीको मृत्यु भएको थियो । दुबै वडामा भएको आगलागीको कारण भने खुल्न सकेको छैन । जिल्ला भर धेरै बन क्षेत्रमा आगालागि भएको छ ।