प्रधानमन्त्रीलाई रुकुम पश्चिम र पूर्वका कांग्रेस–एमालेको ज्ञापनपत्र
प्रधानमन्त्रीलाई रुकुम पश्चिम र पूर्वका कांग्रेस–एमालेको ज्ञापनपत्र

काठमाडौं । रुकुम पश्चिम र पुर्वका नेताहरुले प्रधानमन्त्री केपि शर्मा ओलीसंग भुकम्प प्रभावित क्षेत्रको बारेमा छलफल गरेका छन् । नेपाली काँग्रेस र एमालेका जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु, अन्य नेता तथा जिल्ला अध्यक्षहरुले भुकम्प प्रभावित क्षेत्रको समस्या बारेमा प्रधानमन्त्रीसंग छलफल गरेका हुन ।
जाजरकोट–भूकम्पबाट प्रभावित अधिकांशहरुले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको विषयमा ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर सांसद तथा नेताहरुले भूकम्पबाट प्रभावितका लागि सरकारले दिने भनेको पहिलो र दोस्रो किस्ताको रकम छिटो उपलब्ध गराउन आग्रह गरेका हुन् ।
ज्ञापनपत्रमा पुनः निर्माणका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरणको आयोजना कार्यालय स्थापना गर्नको माग गरिएको छ । यसगैरी सशस्त्र द्वन्द्वकालकालीन र विभिन्न घटनामा नेकपा (माओवादी केन्द्र) इतर पक्षलाई राजनीतिक पहुँच र कानुनी प्रभावमा राखी लोकतन्त्रको अनुभूति गर्न नदिइएको गुनासो प्रधानमन्त्री ओलीसमक्ष गरिएको थियो ।
ज्ञापनपत्र बुझाउन एमालेका पोलिब्युरो सदस्य खेममान खड्का, कांग्रेसका राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, एमालेका प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्मा, कांग्रेसका पूर्व राज्यमन्त्री गोपालजीजङ्ग शाह, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, रुकुम–पूर्वका एमालेका जिल्ला अध्यक्ष लिलामणि गौतम, कांग्रेसका लुम्विनी समिति सदस्य सरिता बिसी, रुकुम–पश्चिमका कांग्रेस जिल्ला अध्यक्ष प्रेमप्रकाश ओली, रुकुम पश्चिमका एमाले अध्यक्ष नन्दराम देवकोटा लगायतको सहभागीता थियो ।