उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन एमाले सचिवालय बैठक आज
उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन एमाले सचिवालय बैठक आज

काठमाडौं । स्थानीय तह उपनिर्वाचनबारे निर्णय गर्न नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्नेछ ।
मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि तयारी तथा उम्मेदवारको टुंगो लगाउन सचिवालय बैठक बोलाएको प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेले कात्तिक २२ गतेभित्र उम्मेदवार सिफारिस प्रक्रिया टुङ्ग्याउन मातहतका कमिटीलाई निर्देशन दिएको उनले बताए ।
एमालले नगरपालिका र गाउँपालिकाको वडाध्यक्षको उम्मेदवार सम्बन्धित पालिका तहको कमिटीको सिफारिसमा जिल्लाले नै टुंग्याउने छ । महानगरपालिका र उपमहानगरपालिकाका वडा तथा नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी सम्बन्धित कमिटी र जिल्लाको सिफारिसमा प्रदेश कमिटीले टुंग्याउने गौतमले बताए ।
बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्रबारे पनि छलफल हुने बताइएको छ ।।