स्थानीयतह उपनिर्वाचन : पुथाउत्तरगंगा गाउँपालिकाको माहोल तातिदै
स्थानीयतह उपनिर्वाचन : पुथाउत्तरगंगा गाउँपालिकाको माहोल तातिदै
रुकुम पूर्व । जनप्रतिनिधि खाली भएको ठाउँमा उपनिर्वाचनको मिति तोकिएसँगै रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा चुनावको माहोल तातिएको छ । उपाध्यक्ष र २ नम्वर वडा अध्यक्षको लागि मंसिर १६ गते पालिकामा उपनिर्वाचन हुदैछ । जसको लागि विभिन्न राजनितिकदलहरुले आ–आफ्ना उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । काँग्रेसले भने उम्मेदवारको नाम सिफारिस गरेको छैन । एमाले र काँग्रेसको गठबन्धनको बिषयमा छलफलमा भैरहेकाले पनि काँग्रेसले तत्काल उम्मेदवारको नाम सिफारिस नगरेको बुझिन्छ ।
नेकपा एमालेले उपाध्यक्ष पदको लागि केशकुमारी तुलाचन र २ नम्बर वडाध्यक्षमा जीवन रोका मगरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेपाली काँग्रेसले २८, २९ गतेसम्म उम्मेदवार टुङ्ग्याउने जनाएको छ । पालिका उपाध्यक्ष र वडाध्यक्षको उपनिर्वाचनमा नेपाली काँग्रेस र एमालेले माओवादी विरुद्ध गठबन्धनको तयारी गरेका छन् ।
त्यस्तै माओवादी केन्द्रले भने उपाध्यक्षको मात्र उम्मेदवारीको नाम सिफारिस गरेको छ । बिहीबार र शुक्रवार तकसेरामा बसेको पार्टीको पालिका कमिटीको विस्तारित बैठकले उपाध्यक्षको उम्मेदवार ज्ञानदेवी पुनलाई बनाउने निर्णय गरेको हो ।
जसअन्तर्गत माओवादीले पालिका उपाध्यक्षको उम्मेदवार सिफारिस गरेको हो भने वडाध्यक्षको उम्मेदवार सिफारिस गर्न बाँकी रहेको छ । पार्टीका जिल्ला संयोजक कुमारी बरालका अनुसार पालिका उपाध्यक्षका उम्मेदवार सिफारिस गरिएको र वडाध्यक्षको उम्मेदवार सिफारिस गर्न बाँकी रहेको छ । माओवादी केन्द्रले वडा अध्यक्षको उम्मेदवारको नाम सिफारिस नगरेकाले माओवादीले पनि अन्य दलसंग गठबन्धन गर्ने बुझिएको छ ।
नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणि गौतम पुथा उत्तरगंगाको उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेससँग गठबन्धन गरेर जाने विषयमा अन्तिम तयारी भएपनि कुनै टुंगो नलागेको बताउँछन् ।
‘उपाध्यक्ष एमालेले पाउनेगरी वडाध्यक्ष कांग्रेसलाई दिनेगरी अनौपचारिक छलफल गरेका छौं, तिहारका कारण अन्तिम टुंगो लागेको छैन, एमाले कांग्रेस गठबन्धन भए माओवादीले जित्नसक्दैनन्, उसले दावी गरेको बलियो क्षेत्र अहिले छैन, एमालेले ठूलो सांगठनिक संरचना बनाइसकेको छ, एक दुई दिनमा बसेर टुंगो लगाउँछौं’ उनले भने ।
काँग्रेसले एमालेसंग गठबन्धनको सहमति गरेमा वडा अध्यक्षमा काँग्रेसलाई सहयोग गर्ने अध्यक्ष गौतमले बताए । एमाले–काँग्रेसले गठबन्धन गरे पनि आफ्नो पाटीले एक्लै लड्ने माओबादी केन्द्रको भनाई छ । माओवादीको आधार इलाकाका रूपमा परिचित रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा माओवादी केन्द्रको नै जीत हुने नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनको भनाई छ । काँग्रेस–एमालेले गठबन्धन गरे पनि फरक नपर्ने उनले बताए ।