तत्कालीन माओवादीले कसरी गरेको थियो यदु गौतमको हत्या

तत्कालीन माओवादीले कसरी गरेको थियो यदु गौतमको हत्या

"0" Comments

रुकुम पश्चिम । कम्युनिष्ट आन्दोलनका एक प्रभावशाली नेतालाई अर्का कम्युनिष्टहरुले लखेटि लखेटि घाँटि रेटेर हत्या गरेको दिन । यस दिनको अवसरमा आज २६ औं यदु स्मृति दिवस मनाइदै छ ।

२०५६ सालको प्रतिनिधि सभाको निर्वाचनमा रुकुमको क्षेत्र नम्वर २ का उमेदवार तत्कालिन नेकपा एमालेका जिल्ला सचिव यदु गौतमलाई तत्कालिन माओवादीले हत्या गरेको थियो । निडर, प्रभावशाली तथा जनप्रिय नेता यदुको हत्या माओवादीले गर्यो । २०५५ साल फागुन २१ गतेका दिन साबिक रुकुमको गरायला गाबिस वडा नम्वर ७ मा भएको थियो । यदु २०५६ सालको आम निर्वाचनको प्रचारका लागि गाउँटोल हिडेका थिए ।

एमाले फुटेर माले बन्नुअघि एमालेको उप–सचिव थिए यदु गौतम । एमाले सरकारमा हुँदा पोलिटब्युरो सदस्य प्रेमसिंह धामीको नेतृत्वमा एक आयोग बनाईएको थियो । जसले देशभर काँग्रेस, एमाले र त्यतिखेरको सयुँक्त जनमोर्चाको शक्ति सन्तुलनका लागि एक फाराम भर्ने काम सञ्चालन गरेको थियो । सोहि धामी आयोगको फाराम बोकि यदु जनता माझ हिँडेका थिए । यदुले जनतामा आफ्नो पार्टीको प्रभाव बसाउँदै हिँडेका थिए ।

यदुको कार्यशैलि, जनताप्रतिको ईमानदारीता, विचारले गर्दा जनताका विश्वास पात्र थिए । यदुको लोकप्रियता उच्च भएपछि मालेले यदु बिरुद्ध माओवादीलाई सुराकी लगायो । शक्ति सन्तुलनको फाराम यदुकै सक्रियतामा भरिएको र यदु जनमोर्चा बिरुद्ध गाँउ पसेको गलत सुचना माओादीलाई पुग्यो ।

त्यतिखेर साबिक रुकुमको छिबाङ्ग गाबिसको टोड्केमा बसेको माओबादीको जिल्ला स्तरिय बैठकले यदुलाई हत्या गर्ने निर्णय गरेको थियो । माओबादीको यस्तो निर्णपछि यदुलाई पछ्याउन सुरु भएको थियो ।

यस भन्दा अघि यदु दुई पटक गिरफ्तारीमा परेर यातना समेत पाईसकेका थिए । स्थानीय निर्वाचनको बखत चौरजहारीबाट सदरमुकाम जाने क्रममा खोलागाँउमा पहिलो पटक र २०५५ साल माघमा साबिक हुकाम गाबिसमा उनलाई गिरफ्तारी गरिएको थियो । निडर यदु गिरफ्तारीबाट मुक्ति पाएपछि पनि गाँउ स्तरमै सक्रिय रहे ।

छिवाङ्गबाट चुनावको माहौलको लागी भेटघाट गर्दै घेत्मा पुग्ने योजना बनाएका यदुलाई बाटो छेकेर हत्या गरियो । फागुन २० गते छिवाङ्गबाट सिम्ली हुदै गरायला आएका उनलाई सानीभेरीको सिम्लीमै हत्या गर्ने माओबादीको योजना सफल हुन सकेन । २० गते गरायलामा पार्टी कार्यकताको घरमा बास बसेर बिहानै जाजरकोटको रिम्ना खाना खाने योजनामा केहि कार्यकर्ताको साथमा हिडेका यदुलाई रिम्ना नजिकै खुकुरी प्रहार गरियो ।

कार्यकर्ताको बिचमा सरासर हिड्दै गरेका यदुलाई सुरुमा खुकुरी हानियो । उनी त्यहाँबाट हाम्फालेर नदि किनारमा पुगे । अन्य दुई जनाले घाइते यदुलाई भेरीको तिरमा भेटाए, र घाँटि रेटेर पानीमा फाले । घटना लगत्तै नारा लगाउँदै माओबादी भागे, एमालेका केहि सामान्य कार्यकर्ता तितरवितर भए । घटनाको एक घन्टा पछि जाजरकोटको रिम्नाबाट प्रहरी घटनास्थल आईपुगेको थियो ।

युद गौतम जस्ता सच्चा र जनप्रिय कम्युनिष्ट नेताको बरबरतापूर्ण हत्या गरेको माओवादी अहिले यदुकै बाटोमा हिडिरहेको एमाले जिल्ला अध्यक्ष नन्दराम देवकोटा बताउछन् । यहाँले यदु गौतम जस्ता सयौ योद्धाहरुले रुकुममा बगाएको रगतको बदलामा माओवादी समुह पतन हुदै गएको उल्लेख गरे ।

“वर्गसंघर्षमा कम क्षतिको बाटोबाट बढी उपलब्धि लिनुपर्छ । वस्तुगत परिस्थितिको ठोस विश्लेषण गरेर क्रान्तिको कार्यनीति तय गर्नुपर्छ । नेपालमा दीर्घकाली जनयुद्धको आवश्यकता होइन, विकल्पका बाटाहरु तमाम हुदाहुदै हिंसाको बाटो रोज्नुले ठुलो क्षति हुन्छ, गन्तव्यमा पुग्न सकिदैन”, यदुले राखेको फरक विचारकै कारण माओवादीको तारो बनेको देवकोटाको भनाई छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *