आठविसकोट नगरपालिकामा ५ दिनको लागि विद्यालय बन्द
आठविसकोट नगरपालिकामा ५ दिनको लागि विद्यालय बन्द
रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिकाले आज देखि नगरपालिकामा रहेका विद्यालयहरू बन्द गरेको छ । गर्मीका कारण विद्यार्थीमा स्वास्थ्यमा समस्या देखिन थाले पछि विद्यालयहरु बन्द भएका हुन् ।
गर्मीका कारण विद्यार्थीहरू बेहोस हुने जस्ता स्वास्थ्य समस्या बढेपछि नगरपालिकामा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको नगर प्रमुख रवि केसीले जानकारी दिए ।
विद्यार्थीहरूमा समस्या देखिन थालेपछि यसबारेमा निर्णय गर्न नगरपालिकाले मङ्गलवार बैठक बोलाएको थियो । उक्त बैठकबाट बर्खे र अन्य बिदाबाट मिलाउने गरी बिदा दिने निर्णय भएको नगर प्रमुख केसीको भनाई छ । लामो समय देखिको खडेरीका कारण गर्मीले सताउन थालेपछि नगरपालिकाका केही विद्यालयले विद्यालय बन्द गर्न सुरु गरिसकेको अवस्थामा नगरपालिकाले विद्यालय बन्दको औपचारिक निर्णय गरेको हो ।
नगरपालिकाभरमा ६४ वटा सामुदायिक र २ वटा संस्थागत गरेर जम्मा ६६ वटा विद्यालय रहेका छन् । गत कार्तिक १७ गतेको जाजरकोट भूकम्पले विद्यालय भवन भत्काएपछि जस्तापाताले निर्माण गरिएका अस्थायी सिकाई केन्द्रमा पठनपाठन बनाइरहेकोले गर्मीले थप सताएको नगर प्रमुख केसीले बताए ।