बाँफिकोटमा ‘जनयुद्ध दिवस’ मा दिएको बिदा विरुद्ध सर्वोच्चमा रिट
बाँफिकोटमा ‘जनयुद्ध दिवस’ मा दिएको बिदा विरुद्ध सर्वोच्चमा रिट
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आगामी फागुन १ गते ‘जनयुद्ध दिवसको अवसर’ भन्दै सार्वजनिक बिदा दिएको विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
गाउँपालिका विरुद्ध रिट लिएर द्वन्द्वपीडित चन्द्रशेखर केसी सर्वोच्च अदालत पुगेका हुन् । रिटको पेशी माघ ३० गते तोकिएको केसीले जानकारी दिए । बाँफिकोट गाउँपालिकाले माघ २८ गते फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना जारी गरेको थियो ।
’जनयुद्ध दिवसको अवसर’ भन्दै दिइएको यो बिदा सर्वाेच्च अदालतको २०७२ भदौ ९ गते, २०८० पुस १३ गते र २०८१ मंसीर २६ गतेको संवैधानिक इजलासको आदेश विपरीत रहेकाले रिटमा उक्त निर्णय बदर गर्न माग गरिएको छ । सर्वाेच्च अदालतले गत वर्ष नेपाल सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा दिएको सार्वजनिक बिदा बदर गरेको थियो ।
माओवादीको दशक लामो द्वन्द्वलाई संविधानले ‘सशस्त्र संघर्ष’ वा ‘सशस्त्र द्वन्द्व’ भनेर मात्र चिनेको रिटमा उल्लेख छ । रिट निवेदक केसीले सर्वोच्च अदालतको आदेश बमोजिम गृह मन्त्रालयले २०८० फागुन १ गते सार्वजनिक बिदा नभएको सार्वजनिक जानकारी गराएको लगायतका पाँच वटा कारण उल्लेख गर्दै बिदा खारेज हुनुपर्ने तर्क गरेका छन् ।।
